‘दाहसंस्कार’ गरिएका वृद्ध जब नौ दिनका दिन घर फर्किए…

rochak news





किरिया बसेको नौ दिनमा गुल्मीको रुरु गाउँपालिका-५ बम्घा बोटेगाउँका ६६ वर्षीय श्यामशरण भण्डारी घर फर्किएका छन् ।उनी घर फर्किएपछि किरिया बसेका परिवारजन र आफन्तजन चकित परेका खबर आजको नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेका छन्।बोटेगाउँमा सात वर्षदेखि एक्लै बस्दै आएका उनी २५ दिनदेखि बेपत्ता थिए । उनकी पत्नी र छोरा रूपन्देहीको मणिग्राममा बस्दै आएका छन् । उनी हराएपछि आफन्तजले खोजी गरेका थिए । उनीहरूले वडा कार्यालय र प्रहरीलाई पनि हराएको जानकारी दिएका थिए ।१९ असारमा रुरु गाउँपालिकाको बम्घा र रिमुवानजिक बडिगाड नदीमा एक पुरुषको शव भेटिएको थियो । शरीरमा लुगा नभएकाले पहिचान गर्न सकिएको थिएन।



श्यामशरण हराएकाले प्रहरीले उनको परिवारलाई खबर ग¥यो । शवसँग उनका धेरै कुरा मिलेका परिवार र आफन्तजनले स्वीकार गरेको छिमेकी धाता पाण्डेयले बताए । ‘उनीजस्तै थिए, त्यसैले परिवार र सिंगो गाउँलेले नै श्यामशरण नै भनेका हुन्,’ पाण्डेयले भने ।परिवार र गाउँलेले स्वीकारेपछि प्रहरीले पनि मुचुल्का उठायो । त्यही दिन प्राथमिक स्वास्थ्य केन्द्र, खैरेनीमा शवको पोस्टमार्टम गरियो । २० असारमा परिवार र छिमेकीले रुद्रवेणी घाटमा दाहसंस्कार पनि गरे र काजकिरियामा बसे ।



किरिया बसेको नवौँ दिन शनिबार बिहान ८ बजेतिर पाल्पाको रैनादेवी गाउँपालिका-१ अर्चलेमा श्यामशरण जीवित फेलापरेको भन्ने फोन आउँदा भने परिवारजन मात्रै होइन, गाउँले पनि झस्किए ।सबैभन्दा पहिले अर्चलेबाट रुरु गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीलाई खबर आएको थियो । ‘खबर पाएको केहीबेरमै अर्चले पुगेर मान्छे जीवित देख्दा अचम्म लाग्यो,’ वडाध्यक्ष ज्ञवालीले भने । त्यसपछि आफन्त र प्रहरीलाई खबर गरेर शनिबार साँझ परिवारलाई बुझाएको वडाध्यक्ष ज्ञवालीले बताए ।



रुरु गाउँपालिका-१ रिडीबाट पत्रकार चुरामणि तिमल्सेनासहित स्थानीय बासिन्दा श्यामशरणलाई लिएर बुटवल पुगेका थिए।‘शनिबार साँझ ६ बजेतिर उनको घर पुग्दा मान्छेको भिडभाड थियो । श्यामशरणलाई देख्नेबित्तिककै त्यहाँ भएका मान्छे मात्रै होइन, परिवारजन पनि झस्किए,’ तिमल्सेनाले भने । उनलाई बुझाएको फोटो खिच्न खोजे पनि परिवारजनले नमानेको उनले बताए ।किरिया गरिरहेका श्यामशरण जीवित घर फर्किएपछि अचम्म लागेको उनका आफन्त विष्णु भण्डारीले सुनाए । ‘सानोबुबा जीवित आएकाले अचम्मित भएका छौँ । अर्कैको दाहसंस्कार गरिएकाले तनावमा पनि छौँ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *